लौकही । सुनसरी प्रहरीको हिरासतमा थुनुवा मृत अवस्थामा भेटिएपछि आइतबार अशान्त बनेको इनरुवा आसपासका क्षेत्रमा समाजिक सद्भाव कायम राख्न कोशी गाउँपालीकाले आग्रह गरेको छ। नेपालीहरुको महान चाडपर्व सुरु भएको छ त्यसैले यस्तो बेला सबैले जिल्लामा शान्तिसुरक्षा मजबुत बनाई राख्नका साथै हिरासतमा मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालीका ५ का हाकिमसाहको सम्बन्धमा निष्पक्ष छानबिनमा सहयोग आवश्यक छ कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले निकालेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रहरी हिरासतमा मृत्यु भएको बारेमा छानबिनपछि सत्यतथ्य कुरा आउने भएकाले छानबिनमा सबैपक्षको सहयोग आवश्यक देखिएको बताउदै कोशी गाउँपालीकाका अध्यक्ष अन्सारीले घटनापश्चात् आक्रोशित भीड र प्रहरीबीच भएको दोहोरो झडपबाट भएको क्षतिबारे ध्यानाकर्षण भएको बताए । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेल नेतृत्वमा गठित छानबिन समितिका सदस्य समेत रहेका अन्सारीले घटनाको बारेमा विभिन्न कोणबाट अनुसन्धान गर्दै दोषी देखिनेलाई कारबाही,पीडित पक्षलाई क्षतिपूर्तिसँगै न्यायको अनुभुती दिलाई छाड्ने प्रतिबद्धता गरे ।
यसैबीच सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले समेत घटनाको बारेमा छानबिन गरी दोषी देखिनेलाई कारबाही,पीडित पक्षलाई क्षतिपूर्तिको लागि पहल गर्ने निर्णय गरी जिल्लामा चाडपर्वमा शान्तिसुरक्षाका साथै समाजिक सद्भाव कायम राख्न सबैलाई आ आफ्नोतर्फबाट आवश्यक सहयोग गर्न सर्वपक्षीय बैठकले आग्रह गरेको थियो । घटनालाई राजनितिकरण हुन नदिन राजनीतिक दलका प्रतिनिधि,समाजिक अगुवा,विभिन्न संघसंस्थाका प्रतिनिधि,संचारकर्मीलगायत एकमत देखिएका थिए ।








