सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलिले आइतबार बिहानै बाढी प्रभावित सुनसरी जिल्लाको निरीक्षण गर्ने भएका छन् । संचारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बाढी प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखलाई निर्देशन दिएका प्रधानमन्त्री देउवाले आइतबार बिहानै सुनसरी जिल्लाका विभिन्न प्रभावित क्षेत्रको हेलिकप्टरमार्फत निरीक्षण गर्दै किसानलाई क्षतिपूर्तिका आवश्यक तयारी थाल्नेछन् ।
बाढीबाट प्रभावित भएकालाई सरकारले राहत दिने तथा बाढी-पहिराले घर भत्किएकाको घर निर्माणका लागि आर्थिक सहयोग दिने उनले बताए । उनले भने, ‘बाढी प्रभावितको स्वास्थ्योपचारदेखि आवास निर्माणमा सरकारले सहयोग गर्नेछ, विपत्तिका बेला सबैले सहयोग गर्न आवश्यक रहेको छ, तपाईंहरूले प्रभावितलाई चुस्तरूपमा सेवा दिनुपर्ने आवश्यकता छ । बाढी-पहिरापीडित नागरिकको साथमा सरकार छ, पीडित भएका नागरिकको समस्या समाधान सरकारले गर्नेछ।’








