प्रेमकुमार साह
अनुसन्धान गर्ने र दोषी पता लगाउने मा विश्वकै उत्कृष्ट प्रहरीको सुचिमा रहेको नेपाल प्रहरीले , लाखौं भुईं मान्छेको उठिबास गराएको घोटालाको अनुसन्धान हचुवाको भरमा गरि, घोटालाको मुख्य योजनाकार मध्यको एकलाई ठाडै उन्मुक्ति दिनुले नेपाल प्रहरीको काबिलियत माथि पनि प्रश्न चिन्ह तेर्साएको छ ? कुनै समय संयुक्त राष्ट्र घोटाला नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति सैनकिका लागि अप्रचलति र गुणस्तरहीन सशस्त्र सवारीसाधन खरदि गर्दा ४० लाख डलरभन्दा बढी चोरी गरेको नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा पता लगाउन सक्ने नेपाल प्रहरीले सहकारी घोटालामा नाम भएको व्यक्ति र बाहाल बाला गृहमन्त्री एउटै व्यक्ति हो वा दुई फरक फरक व्यक्ति हुन् सम्मको अनुसन्धान बाट पता लगाउने नसक्ने अवस्थामा पुग्नु वास्तवमै सोचनीय विषय हो । अन्तराष्ट्रिय घोटाला तथा अपराधकोे अनुसन्धान गर्ने काबिलियत राख्ने नेपाल प्रहरीले लाखौं आम मान्छेको जीवनमरण सँग सम्बन्धीत घोटालाको यति फित्लो अनुसन्धानले प्रहरी संगठन निष्पक्ष र स्वतन्त्र नभएको मात्र पुष्टि गर्दैन् , आम जनमानसमा वर्षौं लगाएर आर्जित गरिएको विश्वास पनि गुमाँउछ ।
चोर , डाकाँले लुटपाट गर्दा , म तपाईंको घरमा डकैति गर्न आएको हूँ, यो मेरो नागरिकताको प्रतिलिपी, नेपाली कागजमा रु १० को हुलाक टिकट टाँस गरि औँठा छाप सहित मेरो तीन पुूस्ते विवरण उल्लेख गरिएको सम्पूणर् कागजात , अब म तपाईंको घरमा डकैति गर्दैछु भनेर आज सम्म कुनै डाकाँले डकैति गरेका छैन् ।
कानुन, विधि, विधान र संविधान लाई ताकमा राखेर , भुईं मान्छेलाई न्याय दिन स्थापित ऐन कानुन कार्यावन्यन गराउने निकाय नै , न्यायलय बनेर दोषिलाई न्यायिक प्रकियामा प्रवेश नै नगराई उन्मुक्ति दिनु कानुनी र नैतिक दुवै रुपमा भ्रष्टाचार हो । जब यो प्रकृया सत्ता जोगाउनै को लागि प्रधानमन्त्री , सत्ता साझेदार दलको अध्यक्ष र पूर्व प्रधानमन्त्री र छानबिन गर्ने निकायको प्रमुखले सामुहिक रुपमा सार्वजनिक मञ्चबाट निर्दोषिताको प्रमाण पत्र दिने हो भने, देशमा न्यायलयको किन चाहियो ?
पद , पावर र पैसाको आडमा नेपालमा दोषीहरु ठाडै उन्मुक्ति पाउने पुरानो परम्परा नै छ । परम्परा भन्दा पनि संस्कृत नै बनाई सकेका छन् , संविधानमा लेख्न मात्र बाकीँ छ । जनताले देशमा सुशासन स्थापित गर्न नेतालई पदमा पुर्याउँछ तर बिडम्बना नेताहरुले त्यो जनादेशलाई आफ्नो कालो काण्डहरु ढाकछोप गर्न र सत्ताको लागि जनादेशको दलाली गर्ने गर्छ । पुरानो दल, नेता र दलिय व्यवस्था आलोचना गरेर , विरोध गरेर , नयाँ दल र नेता सहित उदय भएको दल र नेता पनि वही पथमा हिडिरहेको छ । बाध्यताले हिडेको वा सौखले त्यो तिनीहरुको व्यक्तिगत विषय हो । बाध्यताले हो भने , के त्यस्तो बाध्यता हो जसले थुकि सकेको थुक चाट्नलाई बाध्य परो ? सौख हो भने पुरानो लाई गालि किन ?
पद, पावर र पैसाको मातमा आम जनतालाई लुटेको आरोप लागेको लुटेरालाई सामान्य सोधपुछ पनि गर्न पनि नहुने , यो कस्तो व्यवस्थाको निर्माण गरिदैंछ देशमा ? राजनीतिले नेपालको सबै निकायलाई कसरी आफू अनुकुल वा आफ्नो स्वार्थ सिद्ध गर्न प्रयोग गर्दो रहेछ, यसको ताजा उदाहरण हो यो सहकारी घोटाला ।