मिकाइल आलम
नेपालबाट भारत पुर्याइएको सयौं केजी गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेको छ । भारतीय संचारकर्मीबाट प्राप्त जानकारी अनुसार नेपाल-भारत सीमा नाका हुँदै भारत पुर्याइएको १०६२.२ किलोग्राम गाँजा भारतीय सुरक्षाकर्मीले बरामद गरेको हो ।
प्राप्त जानकारी अनुसार नेपाल-भारत सीमा स्तम्भ नम्बर २२१ बाट करिब ४ किलोमिटरको दूरीमा भारततर्फको स्पर नम्बर २४०० अगाडिको नदीपारि बालुवामा लुकाइएको गाँजा बरामद गरिएको हो । ३० वटा बोरा प्याक गरी जम्मा ५०६ वटा सेतो प्लास्टिकको प्याकेटमा उक्त परिणामको गाँजा बरामद भएपछि सीमावर्ती क्षेत्रमा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

प्रहरीले रोकथाम तथा नियन्त्रण गर्न लागिपरेको बताइरँहदा अझैपनि विभिन्न सीमा नाकाहुँदै गाँजा तस्करी हुने गरेको उल्लेखित घटनाबाट पुष्टि हुन्छ । पहाडी जिल्लाबाट ल्याइने गाँजा रातिको समयमा विभिन्न सीमावर्ती क्षेत्रहुँदै भारततर्फ कटाउने गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेपनि तस्करहरुले उनीहरूलाई छल्दै गाँजा तस्करी गराउदै आएका छन् । कोशी नदिको फाइदा उठाउदै धनकुटा, भोजपुर,उदयपुरलगायत जिल्लाबाट ल्याई भारततर्फ गाँजा तस्कर हुने गरेको बताइएको छ् । कोशी नदिमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट गाँजा भित्र्याउने र ती गाँजा तस्करी गर्ने गरिएको श्रोत बताउँछ ।








