प्रेमकुमार साह
प्रदेश राजधानी विराटनगरको केसलिया रोडबाट १० किलोमिटरको दूरीमा छ, बर्जु ताल । विराटगरबाट नजिक पर्ने कोशी प्रदेशको सबभन्दा ठूलो ताल हो यो । यो ताल सुनसरीको बर्जु गाउँपालिका– ६ स्थित चिमडी गाँउमा पर्छ । बर्जु ताल दुहबीबाट ११ र इनरुवाबाट १८ किलोमिट दूरीमा पर्छ । १५२ बिगाहा क्षेत्रफलमा फैलिएको बर्जु ताल क्षेत्रमा तीन मुख्य ताल छन् । १५२, ७५ र ४५ बिगाहाका तीन तालले बनेको प्याकेज क्षेत्रलाई बर्जु ताल भन्ने गरेको छ । बर्जु ताल चराको लागि पनि प्रसिद्ध क्षेत्र हो । बर्जु क्षेत्रमा स्थानीय र विदेशी गरी करिब २ सय प्रजातिका चराहरु भेटिन्छन् ।
बर्जु ताल मात्र नभएर सिमसार क्षेत्र पनि हो । बर्जुले आफ्नो रैथाने पहिचान गुमाउँदै गएको छ । जलचर र थलचर प्राणी वासस्थान रहेको बर्जु सिमसार , अहिले कंक्रिट र मानविय चापले प्रदुषित छ । हिउँद याममा साइबेरियन चराहरु जाडो छल्न तथा प्रजनन गर्न कोशी टप्पु वन्यजन्तु आरक्ष हुँदै बर्जु सिमसार क्षेत्रमा आउने गर्छ । बर्जुको पहिचान पनि धेरै प्रकारको चरा एकै ठाँउमा पाइने ठाउँ भनेर छ । तर,पछिल्लो समयमा स्थानीय सरकार र प्रदेश सरकार को आर्थिक सहयोगमा बर्जुको प्राकृतिक स्वरूप बदलेर कंक्रिटको जंगल बनाइदैँ छ , त्यसैको परिणामस्वरूप सिमसार क्षेत्रमा यस बर्ष चराहरु कम मात्रामा देखिएको छ ।
बर्जु ताल बाट कसरी बढी भन्दा बढी आर्थिक फाइदा लिन सकिन्छ भने तर्फ बढी ध्यान केन्द्रित छ, ताल व्यवस्थापन समितिको । हिउँद याम चराहरूको प्रजननको समयको हो, यहीं समयमा महोत्सवको नाममा सिमसार क्षेत्रमा ध्वनि र प्रकाश प्रदुषण गर्ने गरिएको छ । चराहरू प्रकृति वातावरण रमाउने गर्छ । महोत्सव मेलाको नाम मानवीय भिड जम्मा गरी आर्थिक फाइदा होला तर तालले आफ्नो मौलिक अस्तित्व गुमाउन निश्चित प्रायः छ । कुनै बेलाका चरैचराको मिठो आवाज सुनिने तालमा आजभोलि डिजे र ठुला ठुला लाउडस्पिकरको मात्र आवाज सुनिने गरिन्छ । अनावश्यक मानवीय भिड र ध्वनि प्रदूषणले आजित भएर चराहरु बासस्थान फेरेको हुन सक्छ । यसतर्फ पनि ताल व्यवस्थापन समिति र चरा संरक्षणकर्ताको ध्यान जान जरुरी देखिन्छ ।
ताललाई आर्थिक हिसाबले भन्दा पनि प्राकृतिक रूपमा विकास गर्न आवश्यक छ। ताललाई जलचर, थलचर प्राणीहरुको बासस्थानको रुपमा संरक्षण गरिनुपर्छ। चरा र माछा पाइन्छ तालमा आजभोलि ढुंङ्गा र मान्छे मात्र तैरिरहेको पाईन्छ, यो चिन्ताको विषय हो। ताललाई पिकनिक स्पटको रुपमा मात्र सिमित राख्ने हो भने, भन्नु केही छैन् तर ताललाई जिवित राख्नु छ भने, यसको प्राकृतिक स्वरूप फर्काउनु पर्छ । ताललाई कस्तो पहिचान दिने ? चराहरूको प्रिय घर वा महोत्सव र मनोरञ्जनको नाममा अश्लिल नाचगान हुने क्रिडा स्थलको रुपमा ? तालको प्रचारमा अन्य तरिकाबाट पनि गर्न सकिन्छ । बर्जु ताललाई जलचर र थलचर प्राणी अध्ययन अनुसन्धानको प्रमुख स्थानको रूपमा विकास गर्न सकिन्छ ।
ताल क्षेत्रमा मानवीय हस्तक्षेपलाई समय मै नियन्त्रण गरिएन भने, बर्जु ताल स्थानीय नेताहरुको कमाई खाने भाँडो बन्ने निस्चित छ । ताललाई “जस्ट अ पिकनिक स्पट” बन्न बाट बचाउन स्थानीय , संरक्षणकर्ता, बुद्धिजीवी, समाजका अगुवाहरु , प्रकृतिप्रेमी, चरा प्रेमी सबले आवाज बुलन्द पार्न आवश्यक छ । जिउँदो ताललाई आंखैं अगाडी मर्न नदेऊ । ताललाई ताल रहने देउ, क्रिडा स्थल न बनाऊ।
लेखक साह आवर कोशीडट कम अन्लाईनका सम्पादक हुन ।