काठमाडौँ। कप्तान रोहितकुमार पौडेलले ४७ बलमै शतक बनाएसँगै नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा रोमाञ्चक जित हासिल गरेको छ। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछयाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएर विजयी भएको हो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन चाहिएको थियो। उक्त ओभर गर्न ओशान थोमस आएका थिए। उनको पहिलो बलमा गुल्शनकुमार झाले १ रन मात्रै लिए।दोस्रो बलमा प्रतिश जीसीले पुन: १ रन लिए। तर, तेस्रो र चौथो बलमा लगातार २ चौका प्रहार गर्दै गुल्शनले नेपाललाई जित दिलाए।
गुल्शनकुमार झा ४ बलमा २ चौकासहित ९ र प्रतिश जीसी २ बलमा १ चौकासहित ५ रनमा अविजित रहे। रोहितले सर्वाधिक ११२ रन बनाए। ५६ बल खेलेका उनले १० चौका र ८ छक्का प्रहार गरे।
दीपेन्द्रसिंह ऐरी २४, कुशल मल्ल १६ र कुशल भुर्तेल १६ रनमा आउट भए। वेस्ट इन्डिजका म्याथ्यू फोर्डे र ओबेद म्याककोएले २/२ विकेट लिए। किमो पलको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो। वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे।एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे।नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १/१ विकेट रह्यो।