सुनसरी । धरानबाट ठुलो परिणाममा लागूऔषधसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहलाई जोगाउन अझै षड्यन्त्र भइरहेको पाइएको छ । २०७७ साल मंसिर १९ गते ७७ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंहमाथि यथेष्ट प्रमाण हुँदाहुँदै समेत भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गर्दा समेत नागरिकता सम्बन्धमा सप्तरी प्रहरीले छानबिन गर्न आलटाल गर्नुले उनलाई जोगाउने षड्यन्त्र भइरहेको गुनासो आएको हो । किर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका उनी भारतीय भएको भारतीय प्रहरीले आधिकारिक रुपमै पुष्टि गरेपनि आर्थिक प्रलोभनसँगै राजनीतिक दबाब दिएकै कारण सिंह सम्बन्धमा किर्ते नागरकिताबारे अझै छानबिन अगाडि बढाउन सप्तरी प्रहरीले आलटाल
गरिरहेको गुनासो आएको हो ।
जिल्ला अदालत सुनसरी निर्णयअनुसार उनी अहिले पूर्वपक्षका जेलमा छन् । ब्राउन सुगर मुद्दामा सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत बिराटनगरले समेत सदर गरिदिएपछि पुर्पक्षका लागि जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको पाइएको छ । नेपाली नागरिकको हकमा र विदेशी नागरिकको हकमा छुट्टाछुट्टै कानुनी प्रावधानको व्यवस्था छ श्रोतले भन्यो यदि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय वा विदेशी भएको पुष्टिमा उनलाई छुटाउन गार्हो हुने भएकोले उनी भारतीय भएको आवश्यक प्रमाण हुँदा समेत उनको नागरिकता सम्बन्धमा छानबिन अगाडि बढाइएको छैन ।

पक्राउ परेका सिंह ठुलो लागूऔषध गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा अन्य गिरोहका बारेमा समेत खुल्ने डरले छुटाउन ठुलो आर्थिक चलखेलका साथै राजनीतिक दबाबसमेत उत्तिकै रहेको श्रोतको दाबी छ । लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक सिंहलाई किर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिएपनि राजनीतिक दबाबका कारण उनको बयान हुन सकेको छैन । लागूऔषध कारोबारीसँगै नेपाली र भारतीय गरी दोहोरो नागरिकता लिएका व्यक्ति भएको सबै प्रमाण हुँदाहुँदै पनि राजनीतिक संरक्षण पाएकै कारण सिंह सम्बन्धमा कारबाही अगाडि नबढाइएको श्रोतको आरोप छ् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकता सम्बन्धि कसुर बयानमा कार्यका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको थियो । रंगेहात पक्राउ परेका सिंहको यथेष्ट पक्राउका बाबजुद महिनौंसम्म नागरिकता सम्बन्धमा छानबिन अघि नबढ्दा श्रोतको दाबीमा बल पुगेको देखिन्छ ।

सिंह सप्तरीको तत्कालीन पकरी गाविस-२ निवासी भनिएको छ। उनको नेपाली नागरिकता किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको थियो। अनुसन्धानमा उनी भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो। सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत बिहारको राज जिरोगा ग्राम पञ्चायतअन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले पारेको थियो। ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन्।

ठाकुरप्रसाद भारतीय नागरिक भएको उनका भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन्। स्रोतका अनुसार राजकुमारसिंहको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसाद सिंहको नागरिकताको छानबिन सुरू गरेको थियो।नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो। भीमनगरस्थित थानाका सब-इन्सपेक्टर शत्रुधनप्रसाद साहको नेतृवमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो। सप्तरीका प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा सिंहभारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो।

राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिकता भएको सबै प्रमाण भेटिएको थियो । सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो। पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा र नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको थियो।

नेपाली नागरिकता नम्बर २-०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा २-०७३९३११३नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस-२ सप्तरी रहे पनि उक्त ठाउँमा सिंह थरका एक जना पनि नरहेको स्थानीयको भनाइ छ । लागूऔषद सहित पक्राउ परेका सिंहले प्रहरी समक्ष कान्तीदेवी सिंह आफ्नो श्रीमती भएको आफै बयान दिएकोमा कान्तीदेवी सिंहले राजकुमार सिंहको श्रीमती बनेर भारतमा जग्गा बिक्रि गरेको प्रमाण भेटिएको छ । राजकुमार सिंहको नाममा भारतमा रहेको जग्गा उनको श्रीमती कान्तीदेवी सिंहले बिक्रि प्रमाण मेटाउन खोजेको श्रोतको भनाई छ । राजकुमार सिंहको नाममा भारतमा रहेको चल अचल सम्पत्ति बिक्रि भएको अवस्थामा मुद्धा कमजोर बनाई उनलाई छुटाउन सकिने कतिपयको बुझाइ रहेको श्रोतको दाबी छ । यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले सप्तरी प्रहरीले दोहोरो नागरिकता लिने व्यक्तिको विषयमा गम्भीरतापूर्वक अनुसन्धान लाई अगाडि बढाएको संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै पुन पत्राचार गरी आरोपित व्यक्तिलाई अनुसन्धानको ल्याइने तयारी भइरहेको जनाएका छन् ।








