कोशी ब्यारेज । लगातारको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेर यो बर्षकै उच्च मापन गरिएको छ । शनिबार राति ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदिमा पानीको बहाब प्रति सेकेण्ड १ लाख १८ हजार ७६० क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । जुन यो वर्षकै उच्च मापन समेत हो ।
पानीको बहाव बढेपछि भारतको नियन्त्रणमा रहेको सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये १९ वटा ढोका खुल्ला गरिएको छ। पानीको बहाव यो वर्षकै उच्च भएपनि अवस्था सामान्य नै रहेको जनाइएको छ । यता जिल्ला प्रशासन कार्यालय सुनसरीले सप्तकोसी नदीबाट तत्काल कुनै खतरा नरहेको जनाएको छ । कोसी प्रभावित क्षेत्रमा हुने संभावित घटनालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अबस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रजिअ उमेशकुमार ढकालले जानकारी गराएका छन् ।








