इनरुवा । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले सुकुम्बासी समस्या समाधानका लागि आफू सक्रिय भएर लागेको बताएका छन् । सोही क्रममा नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग र कोशी गाउँपालिकाबीच आइतबार सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यले पुनः सम्झौता भएको उनको भनाइ छ । आयोग र कोशी गाउँपालिका बीचभूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्न सम्झौता भएको अध्यक्ष अन्सारीले जानकारी दिए । आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष भगिरथ खत्वे र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
वर्तमान सरकारले गठन गरेको नयाँ आयोगसँग सम्झौता भएसँगै कोशीमा लगत संकलन कार्यले निरन्तरता पाउने भएको छ । अघिल्लो सरकारको पालामा गठन भएको आयोग र कोशी गाउँपालिका बीच पनि गत बर्ष सम्झौता भएको थियो । आयोगका अध्यक्ष निरौलाले अघिल्लो आयोगले गरेको कामहरुलाई पनि निरन्तरता दिइने बताउदै संघीय सरकारले प्राथमिकता दिएअनुसार नै स्थानीय सरकारले पनि भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइनुपर्ने जोड दिए । गाउँपालीकाका अध्यक्ष अन्सारीले अघिल्लो आयोगले गरेको कामलाई निरन्तरता दिने उल्लेख गर्दै पुर्जा पाइन्छ कि पाइन्दैन भन्ने अविश्वासलाई चिर्ने गरी आयोगसँग मिलेर काम थालिएको बताए । कोशी बाढीको बेलामा भएको जग्गा वितरण अहिले गर्न लागेको काममा समन्वय कसरी गर्ने भन्ने विषयमा पनि अध्यक्ष निरौलासँग छलफल गरेको उनको भनाइ छ ।
कोशीमा कोही पनि दलित, सुकुम्बासी र विपन्नलाई समस्या नहुने गरी सबैलाई जग्गा र घर भएको गाउँबासी बनाउने उद्देश्यका साथ काम गरिरहेको बताउदै अध्यक्ष अन्सारीले भूमिहिन सुकुम्बासीहरुको समस्याप्रति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । यसैबीच भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्नका लागि गठन भएको राष्ट्रिय भूमि आयोगको सुनसरी जिल्ला समितिको कार्यालयको आइतबार उद्घाटन गरिएको छ । उक्त कार्यालयको एक कार्यक्रमका बीच राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले उद्घाटन गरेका हुन ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, आयोगका सुनसरी जिल्ला अध्यक्ष भगीरथ खत्वे, नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापती केदार भण्डारी,कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, भोक्राहा नरसिंहका उपाध्यक्ष पुनम कुमारी मेहता, जसपाका नेता मुन्ना हलुवार्ई, जपसाका युवा नेता मिथलेश यादव, ब्रहमदेव यादव, महानन्द यादव,सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरुको लगायतको उपस्थिति रहेको थियो ।









