भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ स्थित कोशी ब्यारेजमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समन्वय बैठक सम्पन्न भएको छ । कोसी ब्यारेजमा “मानव बेचबिखन विरुद्धको अभियान, रोकथाम नै समाधान” भन्ने नारा दिएर प्लान इन्टरनेसनलको सहकार्यमा साझा सवालका लागि साझा मंच कोकनको आयोजना तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको अध्यक्षतामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्रस बोर्डर समन्वय बैठक बुधबार सम्पन्न भएको हो ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्रस बोर्डर समन्वय बैठकमा सीमापार मानव बेचबिखन तथा ओसारपसारको अवस्था -अनुभव आदानप्रदान, वर्तमान अवस्था, भारतीय अधिकारीसँगको समन्वय बैठक, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला स्तरीय रणनीति अनुमोदन प्रक्रियालगायतका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रम अधिवक्ता एवं कोकन नेपालका सल्लाहकार तथा मानवअधिकारकर्मी कोषराज न्यौपानेको सहजीकरण गरेका थिए । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सहायक प्रजिअ पौडेलले सुनसरीको सीमा क्षेत्रबाट हुने गरेको मानव बेचविखन तथा ओसारपसारमा कमि आएको बताएका थिए ।
मानव बेचबिखन पछिल्लो समयमा जटिल समस्याको रूपमा रहेको बताउदै यसलाई न्यूनीकरण गर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड थियो । यस्तै सोही कार्यक्रममा साझा सवालका लागि साझा मंच कोकन इनरुवा सुनसरीका अध्यक्ष मन्जिता उपाध्यायले सीमा क्षेत्रबाट हुने मानव बेचबिखनमा पहिलेको तुलनामा कमि आएको बताए । सीमा क्षेत्रमा हुने लागूऔषध,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न आफूहरू कटिबद्ध भएर लागेको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काले दाबी गरे ।
कार्यक्रम कोकन नेपालका कार्यक्रम संयोजक हेमराज राज पौडेल,बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डे, सीमा प्रहरी चौकी भण्टाबारीका इन्चार्ज सई नागेश्वर थानदार,प्रहरी चौकी कोशी ब्यारेजका सई निरोज कार्की, कोशी गाउँपालीका ८ अवस्थित रहेको सूचना केन्द्रकी परामर्शदाता बालकुमारी विक,मानव अधिकारकर्मी पहलाद आलम,कोशी गाउँपालीका क्षेत्रका अभिभावकवर्ग,मानव अधिकारकर्मी,स्थानीयबासी, सुरक्षाकर्मी,अभियन्तालगायतको उपस्थिति रहेको थियो ।ल









