इनरुवा । सुनसरी प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । US PALAU JOB SERVICE Pvt.Ltd का संचालक जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नं.३ बस्ने ३४ वर्षका राजिवजंग थापालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । उनले बैदेशिक रोजगारको लागि पलाउ नाम गरेको मुलुक पठाई दिन्छु भनि प्रलोभनमा पारी बाह्र (१२) जना सर्बसाधारण व्यक्तिहरुबाट २०७३ सालमा नै जनही रु.७,००,००० ( सात लाख रकम) का दरले जम्मा रू. ८४,००,००० (चौरासी लाख) उठाई ठगी गरी फरार रहेकोमा पक्राउ गरिएको हो ।
बैदेशिक रोजगार न्यायधिकरण काठमाण्डौबाट मिति २०७६।०३।०८ गतेको फैसलाले निजलाई १ बर्ष ६ महिना कैद र रू.१ लाख ५० हजार जरिवाना साथै बिगो बापत १ करोड २६ लाख तोकेको र तत्पश्चात निज प्रतिवादी राजिव जंग थापा फरार रही लुकिछिपि बसिरहेको अवस्थामा ईनरुवा नगरपालिका स्थित गाँउबाट कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको बिशेष प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीमा बुझाएकोमा जिल्ला अदालत सुनसरीले निजलाई सजाय भुक्तानको लागि झुम्का कारागार पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी चालु आर्थिक वर्षको हालसम्म १३२ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरू पक्राउ गर्न सफल भएको जनाएको छ ।