इनरुवा । सुनसरीमा जारी निषेधाज्ञा आज बिहीबारबाट खुकुलो हुने भएको छ । जेठ ३१ गते सम्मलाई जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गरेको सुनसरी प्रशासनले बिहीबारबाट निषेधाज्ञा केहि खुकुलो गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बुधबार बसेको डीसीसीएमसीको बैठकले सरोकारवालासँगको छलफल पश्चात निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
बिहीबारबाट खाद्यान्न लगायत, स्टेसनरी, माछा, मासु, दुध र फलफूलको विक्ति वितरणलाई सहज बनाइने निर्णय गरिएको छ । आज बिहीबारदेखि खाद्यान्नका पसल (डिपार्टमेन्ट स्टोरका ग्रोसरी कक्ष) समेत बिहान १० देखि अपरान्ह ३ बजे सम्म खोल्न दिइनेछ । बैठकले उवासंघ र स्थानीय तहले सकेसम्म होम डेलिभरीको व्यवस्था मिलाउन सकिने बताइएको छ । यसका साथै दुधडेरी तथा माछा,मासु पसल विहान १० बजे सम्म र बेलुका ४ देखि ७ बजे सम्म खुलाउन पाइने छ ।
यस्तै सो बैठकले फलफूल तथा तरकारी संकलन तथा ढुवानी निर्वाध गर्न पाइने भनेको छ । बिक्रीको हकमा भने १० देखि ३ बजेको अवधि भित्र ठेला गाडा समेतमा राखी घरघरमा पुर्याउन सकिने निर्णयमा उल्लेख छ । यद्यपि,सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्रि गर्न र त्यस्तो बजार लगाउन भने पाइने छैन् ।
डीसीसीएमसीले स्टेसनरी पसल समेत १० बजे देखि ३ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । उक्त बैठकले स्वास्थ्यका मापदण्ड पालनामा भने कडाई गरिने जनाएको छ । उल्लंघन गरे नियम बमोजिम कार्वाही गरिने बताइएको छ । साथै सो बैठकले फ्रन्ट लाइनमा रही कार्यरत सुरक्षाकर्मी लगायत बैंक तथा वित्तिय संस्थाका कर्मचारी, व्यापारी तथा कानुन व्यवसायीहरुका लागि खोपको व्यवस्था मिलाउन प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरेको छ ।









