लौकही । कोशी गाउँपालीकाको कार्यालयले कोशी क्षेत्रका १६ जना मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरेर आँखाको ज्योति फर्काएको छ । कोशी गाउँपालीका स्वास्थ्य शाखा लौकही सुनसरीको आयोजना एवं ग्लोबल आँखा हस्पिटल इटहरीको प्राविधिक सहयोगमा आयोजना गरिएको निशुल्क आँखा शिविरमा पहिचान भएका १६ जना बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राईले जानकारी दिए ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई,लेखा अधिकृत सुरप्रसाद दंगाल लगायत विभिन्न अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा गत बुधबार कोशी गाउँपालीका वडा नम्बर १ लौकहीस्थित रहेको बीपी हलमा कोशी गाउँपालीका स्वास्थ्य शाखाले आयोजना एकदिने निशुल्क आँखा शिविरमा ११७ जना परीक्षण गराएका थिए । ति मध्ये १६ जनामा मोतियाबिन्दु पहिचान भएको थियो ।

कोशी गाउँपालीका कार्यालयको सहयोग एवं पहलमा ग्लोबल आँखा हस्पिटल इटहरीका नेत्ररोग विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेर ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफल भएको हो। जनस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि आँखाको हेरचाहमा भने चेतनास्तर बढाउन आवश्यक देखिएको हुँदा यस्ता कार्यक्रम निरन्तर गर्ने योजना रहेको कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् ।
“सङ्क्रमण पहिचान भएका व्यक्तिमा जन्मजातदेखिको मोतियाबिन्दु पाइएको छ भने रोग बढेर अन्तिम अवस्थामा पुगेका बिरामीसमेत भेटिएका छन्”, कोशी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख रामनाथ साहले भने , “सरुवा रोगबाट सुरक्षित रहन हात धुन र मास्क लगाउनुपर्छ भन्ने चेतना पाइए पनि आँखाको सरसफाइसम्बन्धी ज्ञान भने निकै कम पाइयो।”









