केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ।
अन्य ११ जना बेपत्ता भएका छन्। सात जना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक–एकजनाको मृत्यु भएको जानकारी दिए।
सिन्धुपाल्चोकमा ७ जना हराइरहेका छन्। गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिरोले ठूलो जनधनको क्षति भएको थियो।
यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उनले बताए। अन्य विवरण संकलन जारी रहेको केन्द्रले जनाएको छ।
बाढी पहिरोमा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित वासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए।
उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ।
त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले बताए।
अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ। त्यहाँ बाढीका कारण जोखिममा रहेका ५ सय जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो। त्यसयता लगातार पानी पर्दै आएको छ। यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।









