ईस्लामी संघ नेपालले असार ११ गतेदेखि १६ गतेसम्म गरिरहेको मदिरा तथा लागूऔषध विरुद्धको राष्ट्रव्यापी अभियान सप्ताह अन्तर्गत सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रमा पनि बिहिबार जनचेतनामूलक र्याली निकालिएको छ ।
खासगरी सीमावर्ती क्षेत्रमा बढी मात्रामा देखापरेको यस्ता समस्या समाधान गर्न सकारात्मक संदेश प्रवाह हुने उद्देश्यले कोशी गाउँपालीका वडा नम्बर ३ नहर चौकमा अवस्थित रहेको मिल्ली मोडेल ऐकेडेमीको समन्वय र ईस्लामी संघ नेपालको आयोजनामा निकालिएको जनचेतनामूलक र्याली प्रभावकारी सावित भएको मिल्ली मोडेल ऐकेडेमीका संचालक शहाबुद्दिन फलाहीले जानकारी दिनुभयो ।
लागूऔषध नियन्त्रण गर्न सीमामा निगरानी बढाएको प्रहरीले बताएपनि लागूऔषध ओसारपसार हुने क्रम भने रोकिएको छैन । सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रबाट लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताएपनि लागूऔषध कारोबार यथावत रहेको हो ।
लागूऔषध प्रयोगकर्ता तथा कारोबार बढेपछि यस्ता कारोबार रोक्न समाजमा सकारात्मक संदेश दिने उद्देश्यले मिल्ली मोडेल ऐकेडेमीका विद्यार्थीहरुले कोशी गाउँपालीका वडा नम्बर ३ नहर चौक देखि लौकही सम्म शहाबुद्दिन फलाहीको नेतृत्वमा विशाल र्याली सचेतना कार्यक्रम गरिएको हो ।
इस्लामी संघ नेपालद्वारा संचालित “मदिरा तथा लागुऔषध विरुद्धको अभियान सप्ताह” इस्लामी संघ जमुवा र भण्टाबारी इकाईको संयुक्त समन्वयमा सो कार्यक्रम उल्लेख संख्यामा रहेको विद्यार्थीहरुको सहभागितामा सम्पन्न गरिएको थियो ।