सुनसरी । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको अवस्थामा लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ निवासी २० वर्षीय आलम अन्सारी र सहचालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टका अनुसार पक्राउ परेका दुबै व्यक्तिलाई लागू औषध गाँजा र अटो सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ।
यसै क्रममा, जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि गहिरो अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।










