इनरुवा । इनरुवा जेसीज २०२५ को आयोजनामा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न भएको छ । इनरुवा जेसीजका अध्यक्ष सत्यनारायण यादव (सत्य) को अध्यक्षतामा एक दिने तालिम बिहिवार सम्पन्न भएको हो । उक्त तालिममा प्रमुख प्रशिक्षक इनरुवा जेसिजका पूर्व अध्यक्ष धीरज भट्टराईले इनरुवा जेसीज बोर्डका पदाधिकारीहरू, कार्यक्रम संयोजकहरू, सदस्यहरू लगायतलाई तालिममा सहजीकरण गरेका थिए ।

प्रशिक्षक भट्टराईले जेसिजको इतिहासको बारेमा अवगत गराउदै नेपालमा जेसिजले विभिन्न परिवर्तनमा खेलेको भूमिकाका बारेमा जानकारी गराएका थिए । यसैगरी जेसिजमा आवद्ध भइसकेपछि पालन गर्नुपर्ने अनुसन्धान, काम- कर्तव्य, अधिकार तथा महत्वका बारेमा सहजीकरण गरे ।

केहि गर्न चाहने खासगरी युवावर्गको लागि जेसिज एउटा राम्रो माध्यम भएको उनले स्मरण गराए । तालिम उपलब्धिमूलक भएको बताउदै इनरुवा जेसीजका अध्यक्ष सत्यनारायण यादवले तालिमबाट सिकेका कुराहरुलाई मनन गर्दै आफ्नो नेतृत्वको यसपटकको जेसिज टीमले पृथक् गरेर देखाउने बताए । सो तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।










