लौकही । “कोभीड राहतमा सामाजिक क्षेत्रको साथ
परोपकारी मनले बढाउ सहयोगी हात” भन्ने नाराका साथ कोशी गाउँपालीका वार्ड नम्बर ३ का अति विपन्न समुदायलाई राहत वितरण गरिएको छ । कोशी टप्पु लर्नीङ ग्राउन्डका अध्यक्ष राजकुमार सिंहको अगुवाइमा लकडाउनको कारण समस्यामा परेका अती विपन्न समुदायलाई बिहीबार कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले राहत वितरण गरेका हुन ।

दैनिक ज्यालादारी गरी छाक टार्ने अति विपन्न समुदायलाई पहिचान गर्दै उनीहरूलाई २५ केजी चामल, एक लिटर खाने तेल, दुईकेजी दाल, नुहाउने साबुन, लुगा धुने साबुन,माक्सलगायत वितरण गरिएको कोशी टप्पु लर्नीङ ग्राउन्डका अध्यक्ष सिंहले जानकारी दिए ।

अन्तर्राष्ट्रिय संस्था केटिकेको सहयोगमा भर्टीकल बायोडाइभरसीटी फण्ड र कोशी टप्पु लार्नीङ ग्राउन्डको आयोजकतमा कोशी गाउँपालीका ३ स्थित कोशी बगर क्षेत्रमा बसोबास गर्ने अति विपन्न समुदायका घर परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

कोशी गाउँपालीकासँग समन्वय गर्दै अन्तर्राष्ट्रिय संस्था केटिकेको सहयोगमा भर्टीकल बायोडाइभरसीटी फण्ड र कोशी टप्पु लार्नीङ ग्राउन्डको आयोजकतमा वास्तविक विपन्न समुदायका वर्गको पहिचान गर्दै राहत वितरण गरिनु स्वागतयोग्य कुरा भएको गाउँपालीका अध्यक्ष अन्सारीको भनाइ छ । कोशी गाउँपालीका क्षेत्रका विपन्न वर्गलाई राहत वितरण गर्ने कार्यमा सहयोग गर्ने सबैमा विशेष धन्यवाद दिदै उनले जैविक विविधताको संरक्षण गरी आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नारा व्यवहारमा कार्यान्वयन गर्न आह्वान गरेका थिए ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा भएको राहत वितरण कार्यक्रममा नेकपा एमालेका नेता अजय कुशियैत,कोशी गाउँपालीका ३ का वडाध्यक्ष सुलेमान मन्सुरी, १ का अध्यक्ष राजकुमार साह, कार्यपालिका सदस्य श्यामकुमार सिंह, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य शम्भु साह, नेपाली काङ्ग्रेस बराहक्षेत्रका स्थानीय युवा नेता तथा प्रकाशपुर जमातका अध्यक्ष तेजबहादुर गुरुङलगायत कोशी टप्पु लर्नीङ ग्राउन्डको कर्माचारीहरु र प्रकाशपुर युवा जमातका सदस्यहरुको उपस्थिति रहेको थियो ।









