इनरुवा । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले आयोजना गरेको ईदमिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको सभापतित्व तथा प्रदेश नम्बर १ प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइरालाको प्रमुख आतिथ्यमा शुक्रबार ईदमिलन कार्यक्रम सम्पन्न हो ।

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व बक्रईदको अवसरमा आयोजित ईदमिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजीव कोइरालाले सबैमा बक्रईदको हार्दिक शुभकामना व्यक्त गर्दै बक्रईद पर्वले नेपाली समाजमा आपसी भाइचारा कायम गरोस् भन्ने कामना समेत गरेका थिए । सुनसरी जिल्लामा मात्रै नभई प्रदेश नम्बर १ का १४ वटा जिल्लामा नेपाली काङ्ग्रेस बलियो बनेको बताउदै उनले जनताले दिइएको दुईतिहाइ मत दिदासमेत जनहित विपरीत असंबैधानिक,अलोकतान्त्रिक कदम चाल्दै दुईपटक संसद विघटन गर्ने कम्युनिस्टहरुको पत्ता साफ हुने दाबी गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले विविधतायुक्त समाजमा अल्पसंख्यकका रूपमा बसोबास गरिरहेका नेपाली मुस्लिम समुदायलाई बक्रईदको हार्दिक शुभकामना व्यक्त गर्दै बक्रईद पर्वले सबैलाई एकताबद्ध भई देशको समग्र विकास निर्माणकार्यमा जुट्न प्रेरित गरोस् भन्ने कामना गरेका थिए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति अन्सारीले नेपाली काङ्ग्रेसलाई सुनसरी जिल्लामा अब्बल स्थानमा पुर्याउन हालको सुनसरी क्षेत्र नम्बर ४ र साविकको सुनसरी क्षेत्र नम्बर ५ का नेताकार्यकर्ता अहम् भूमिका रहेकोे बताए । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को सभापतिको जिम्मेवारी सम्हालेदेखि आफूले गुटबन्दी नगरी नेपाली काङ्ग्रेस र जनहित हुने कार्य गर्दै आएको उनले दाबी गरे । भावी दिनमा समेत नेपाली काङ्ग्रेस सहमति,सहकार्य र एकताको मूलमन्त्र अनुसार अगाडि बढ्ने सभापति अन्सारीले बताए ।

ईदमिलन कार्यक्रममा नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी डाक्टर इस्राइल मंसुरीले ईदमिलन कार्यक्रममा भेलाले शुभकामना आदानप्रदान गरिनुका साथै आगामी अधिवेशनको तयारीको बारेमा समिक्षासमेत गरिएको बताए । ईदमिलन कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुनसरीका कोषाध्यक्ष पंकज महतो,नेपाली काङ्ग्रेस कोशी गाउँपालीकाका सभापति सुलेमान मन्सुरी,सत्रुघन यादवलगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।









