भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले १६५ केजी गाँजा बरामद गरेको छ । भण्टाबारी नाका हुँदै भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गाँजा सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । पश्चिमबाट एम्बुलेन्समा गाँजा ल्याइएको श्रोतले बताएपनि सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले यसबारे तत्कालै केही भन्न न सकिने बताए ।
कोशी गाउँपालीका ८ स्थित राजमार्गको दक्षिण पटी रहेको पानीटंकीको नजिक प्लास्टिकले बेरी राखिएको ६ थान शंकास्पद बोरा फेला पारी चेकजाँच गर्दा १६५ केजी गाँजा बरामद गरिएको हो उनले भने । गाँजा धनीबारे खोजतलास गर्ने क्रममा कोशी गाउँपालीका ८ बस्ने वर्ष ४० का गणेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएपनि उनी भरिया मात्र रहेको बुझिएको छ । विगतमा समेत भण्टाबारी नाकाबाट गाँजा तस्करी हुँदै आएको पाइन्छ । केही समयअघि सशस्त्र प्रहरीले भण्टाबारीबाटै ४९ केजी गाँजा बरामद गरेको थियो । भण्टाबारीकै केही तस्करहरुले स्थानीयदेखि जिल्ला र प्रदेशसम्मका प्रहरी अधिकृतलाई मोटो नजराना बुझाई तस्करी गराउने गरिएको श्रोतको आरोप छ । केही समय पहिले गाँजा मुद्दामा आफ्नो नाम रहेको थाहा पाएपछि एकजना तस्करले राजनीति पहुँचका आधारमा मोटो रकम बुझाई आफ्नो नाम कटाउन सफल भएको श्रोतको आरोप छ । यद्यपि तस्करी रोकथाम तथा नियन्त्रण गर्न कटिबद्ध भएर लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाको दाबी छ ।









